Thursday, May 19, 2016

समाचारहरुवाट वचाउ ! [कविता]



अखवारका पाना पाना वाट
रेडियोका ध्वनी तरङ्गवाट
टेलिभिजनका दृश्यहरुवाट
एक हुल समाचारहरुले
मलाई पछ्याइरहेछन्, वचाउ ! .........

कतै भोकका क्रन्दन
कतै शोकका क्रन्दन
जताततै हत्या हिंसा र वतात्कारका शिर्षकहरुवाट
झैझगडा र लडाईका विषयहरुवाट
राता राता धव्वारुपी अक्षरहरुले
अनि
अनि, रगतमा पौडिरहेका दृश्यहरुले
भनन्न रिङ्गाटा चलाउँछ
फनन्न संसार हल्लाउँछ
अनायासै
एक हुल समाचारहरुले मलाई पछ्याइरहेछन्, बचाउ !

कुनै कार्यकर्ताका आक्रोसपूर्ण अभिव्यक्ती
कुनै नेताका पट्यारलाग्दा भाषण
अनि
अनि, कुनै मन्त्रीका आस देखाउने बोली
सबै सबै कुराहरु
समाचार बनेर
मेरा गिद्दि खाईरहेछन्
त्यसैले
म यी अक्षरहरु, दृश्यहरु अनि आवाजहरुवाट
कसैले नभेट्ने गरी भाग्न खोज्छु
तर पत्रकार बन्धुहरु
कलमको हतियार देखाएर
समाचारलाई
म तर्फ नै लखेटिहेछन् ।
विवस ती समाचारहरु
मेरो कानै खाने गरि
चिच्याउँदै  चिच्याउँदै
मेरो नजिक नजिक अझै नजिक आईरहेछन् ।
वचाउ ! वचाउ !
मलाई यी समाचारहरुवाट वचाउ !

-पुष्पा पलाँस



Share:

0 Comments:

Post a Comment