Wednesday, December 16, 2015

बाताबरणमैत्री बिहे

पुष्पा थपलिया


काठमाडौं : बुधबार दिउँसो काठमाडौंको कालिमाटीस्थित एक घरबाट फूलमाला लगाएर टाईसुटमा सजिएका एक युवा रिक्सामा सवार भइ खुसिबुतर्फ लागे ।  उनी पछिपछि चिटिक्क सजिएका करिब २० जना युवायुवती पनि साइकलमा सवार भएर सडकमा निस्के ।



यो दृश्य कुनै फिल्म सुटिङको होइन । कालिमाटी निवासी साइकल अभियन्ता शैलेन्द्र डंगोलको बिहेको दृश्य थियो । विगत दश वर्षदेखि थहिटी मागलकी सुनिरा श्रेष्ठको प्रेममा परेका शैलेन्द्र उनैलाई जीवनसाथी बनाउन निस्कँदा उनले अनौठो सवारीसाधन प्रयोग गरे ।


आफ्नो बिहेका कार र बसलाई झकिझकाउ बनाएर लैजाने परम्परालाई चुनौती दिँदै शैलेन्द्र घरबाट अन्मिएर रिक्सामा सवारी भइ बेहुलीको घर हुँदै सोह्रखुट्टेस्थित नेपाः पार्टी प्यालेस पुगे । नेपाः पार्टी प्यालेसमा शैलेन्द्र र सुनिराका बाबुआमाले नातागोतालाई त्यहीँ संयुक्त पार्टी दिएपछि सुनिरा रिक्सामै चढेर शैलेन्द्रको घरतर्फ लागिन् ।


यी नवदम्पतीलाई नेपालका अन्य साइकल प्रेमीले साथ दिए । ‘म लामो समयदेखि साइकल प्रयोग अभियानमा छु’, शैलेन्द्रले भने, ‘सुनिरा पनि साइकल अभियन्ता हुन् । १० वर्षदेखिको हाम्रो प्रेमलाई हामीलाई वातावरण मैत्री साधनमा चढेर विवाहमा परिणत गरेका हौं ।’

करिब ८ वर्षदेखि साइकलमा सवार हुने शैलेन्द्रको सपना काठमाडौंलाई साइकलमैत्री सहर बनाउनु हो । तर उनको त्यो अभियानले सहरमा साइकल लेनयुक्त सडक नहुँदा मूर्तरुप पाउन सकेको छैन ।


‘साइकल लेनसहितको सडक भएमा साइकल चढ्नेहरुको संख्या पनि बढ्ने थियो’, उनले सुनाए, ‘इन्जिनयुक्त साधनविना पनि जीवनशैली चल्न सक्छ । तर सरकारले सहरका सडकमा साइकल लेन अनिवार्य बनाउनुपर्छ ।’

काठमाडौंमा साइकल अनिवार्य साधन भइसकेको उनको बुझाइ छ । अहिलेको नाकाबन्दीमा साइकल स्वास्थ्य र वातावरण बचाउन पनि सबैले प्रयोग गर्नुपर्ने उनी बताउँछन् । ‘साइकलले परनिर्भरता पनि कम गराउँछ । वातावरण स्वस्थ बनाउन पनि मद्दत गर्छ’, उनले सुनाए । 
Share:

0 Comments:

Post a Comment